काठमाडौँ, १५ जेठ । सरकारले रेलमार्गहरूको निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाका अनुसार पूर्व-पश्चिमलगायतका विभिन्न रेलमार्गहरूको निर्माणका लागि एकमुष्ट आठ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको हो ।
विभागले पूर्व–पश्चिम रेलमार्गको एउटाबाहेक सम्पूर्ण खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । बाँकी एउटा खण्डको पनि डीपीआर एक वर्षभित्र तयार हुँदैछ ।
विभागले आगामी वर्षबाट काँकडभिट्टा–इनरुवा–विराटनगर रेलमार्ग निर्माणको काम सुरु गर्नेछ । काँकडभिट्टा–इनरुवा–विराटनगर खण्ड करिब १०६ किलोमिटर लामो छ ।
पश्चिमतर्फ बुटवलदेखि गड्डाचौकीसम्म चार सय २१ किलोमिटरको डीपीआर तयार भइसकेको छ। नवलपरासीको चोरमारादेखि बुटवलसम्मको डीपीआर बनिसकेको छ भने पूर्वमा इनरुवादेखि काँकडभिट्टा खण्डको डीपीआर पनि तयार छ ।
निजगढबाट हेटौंडाहुँदै नवलपरासीसम्मको खण्डको डीपीआर निर्माणको चरणमा छ । एक वर्षभित्र यो खण्डको पनि डीपीआर तयार भइसक्ने दाबी विभागको छ।
सरकारले पूर्व-पश्चिम रेलमार्गको मूल रूटलाई नौ खण्डमा विभाजन गरेको छ । मूल खण्डहरू नौ सय ४५ किलोमिटरको भए पनि पोखरा–काठमाडौं, काठमाडौं–वीरगञ्जलगायत सहायक रेलमार्गलाई जोड्ने हो भने एक हजार तीन सय ७६ किलोमिटर हुनेछ ।










प्रतिक्रिया दिनुहोस्