राजनीति

अवकाशप्राप्त उपरथी श्रेष्ठसहित ९ सैनिक अधिकृत कारबाहीमा



काठमाडौँ, १७ जेठ । नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारबाही गर्ने निर्णय गरेको छ । उपरथी श्रेष्ठबाट ५८ लाख ९५ हजार ५९ रुपैयाँको कुनै हिसाबकिताब नराखी आर्थिक अनियमितता गरेको देखिएको ठहर गरिएको छ ।

समरी जनरल सैनिक अदालतले सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा उपरथी श्रेष्ठसहितका सैनिक अधिकृतलाई कारबाही गर्ने निर्णय गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बलाधिकृतरथी शरदकुमार गिरीको अध्यक्षतामा गठित अदालतले निजबाट उक्त रकम असुल उपर गरी नसिहत दिने फैसला सुनाएको हो । सोही मुद्दामा संलग्न अधिकृतले आफूलाई प्राप्त जिम्मेवारी प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर गरी सचेत गराउने गरी फैसला भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा अनुसन्धानको दायरामा परेका एक अधिकृतसहित अन्य ९ जनालाई भने अदालतले सफाइ दिने गरी फैसला गरेको छ ।