Banner News

सामुदायिक विद्यालय सञ्चालनको जिम्मा सरकारकै हो, निजीलाई सुम्पन खोजेको हैन : मन्त्री खतिवडा



काठमाडौँ, १९ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले सामुदायिक विद्यालय सञ्चालनको आधारभूत जिम्मेवारी सरकारकै भएको बताउँदै सामुदायिक वा सरकारी विद्यालयहरु नीजिलाई सुम्पन नखोजेको दावी गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै अर्थमन्त्री डा. खतिवडाले भौतिक सहयोग लिनमात्रै खोजेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले स्पस्ट भनेको छु, माध्यमिक तहसम्मको शिक्षा सरकारको दायित्व हो । सामुदायिक विद्यालयलाई हामी केही सहयोग गर्छौ, संस्थागत सामाजिक दायित्व अन्तर्गत भन्दा कसैले कम्युटर दिन्छु भन्यो भने पनि लिन्न भन्नुपर्यो । कसैले खेलकुदका सामान दिन्छन भनेपनि लिन्न भन्नुपर्यो । के त्यही भन्ने हो ?’

अर्थमन्त्री खतिवडाले शिक्षामा कर नलगाउ भनेर संसदमै छलफल भएर कर हटाइएको भन्दै संस्थागत सामाजिक उत्तरदायित्वको रकम भनेको कर तिरिसके पछिको रकम भएकाले यस्तो व्यवस्था गरिएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो करसँग सम्बन्धित विषय नै होइन । त्यसपछिको पनि केही रकम हामी सहयोग गर्छौ भन्दा टेकओभर नै गर्ने स्थिति हुन्छ र रु यो त हुँदैहुँदैन । सरकारको अभिप्राय र बजेटको अभिप्रय पनि त्यो होइन । सरकारको उदेश्य यसमा स्पस्ट छ, यहिअनुसार अघि बढ्ने हो र केही मात्रामा संख्यामा त्यस्तो सहयोग यदि कसैले गर्छ भने सरकारले नीजि क्षेत्रसँग सहकार्य गर्नुहुँदैन भन्ने केही पनि छैन तर स्वामित्व हस्तान्तरण होइन ।’