विश्व

भारतमा कोरोना संक्रमितको संख्या एक लाख ९८ हजार नाग्यो



काठमाडौँ, २० जेठ । भारतमा कोरोना संक्रमितको संख्या एक लाख ९८ हजार ३७० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७ हजार ७६१ कोरोना संक्रमित थपिएका छन् ।

यसमध्ये ९५ हजार ७९४ जना निको भएर घर फर्किसकेका छन् । ९७ हजार ८ जना स्वास्थ्यकर्मीको निगरानीमा छन् । ८ हजार ९४४ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर छ ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाले २०० जनाको मृत्यु भएसगै कोरोना मृत्यु हुनेको संख्या ५ हजार ६०८ पुगेको छ । भारतले हिजोबाट लकडाउनमा खुकुलो गरेको छ । यसलाई भारतले अनलकको पहिलो चरण भनेको छ । यसअन्तरगत भारतको गृहमन्त्रालयले सपिङ मल, होटल, रेस्टुराँ तथा धार्मिकस्थल खोल्न अनुमति दिएको छ ।

यद्यपि विद्यालय, कलेज, शैक्षिक प्रशिक्षण संस्थाहरू दोस्रो चरणमा मात्रै खोलिने छन् । अन्तरराष्ट्रिय हवाई यात्रा अहिले पनि बन्द हुनेछ । पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार र प्रेक्षालय, हल, सामाजिक, राजनीतिक र खेल सम्बन्धी गतिविधि बन्द रहनेछन् ।