विश्व

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो



काठमाडौँ, २४ जेठ । बेलायतमा कोरोना भाइरस (कोभीड–१९) को संक्रमणबाट मृत्यु हुनेको  संख्या ४० हजार नाघेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ का अनुसार गएको २४ घन्टाभित्र बेलायतको अस्पातालमा थप ३ सय ५७ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । योसँगै बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ४० हजार २ सय ६१ पुगेको छ । यसैगरी  २४ घन्टामा थप १ हजार ६ सय ५० जानामा कोरोना पोजिटिभ देखिएको छ ।

हालसम्म बेलायतमा कोरोनाबाट २ लाख ८३ हजार ३ सय ११ जना संक्रमित भएका छन् । विश्वभरिमा ४० हजार भन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका पछि बेलायत दोस्रोमा पर्दछ । बेलायत युरोपकै बढी संक्रमित मुलुकमा पर्दछ ।

यसैगरी बेलायतमा कोरोनाबाट मृत्यु  नेपालीहरुको कुल संख्या ६७ पुगेको लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीमध्ये ५६ जना पुरुष र ११ महिला छन् । उनीहरुमध्ये भूपू गोर्खा र उनीहरुका परिवारका सदस्यको संख्या ५६ जना छ ।