काठमाडौँ, २६ जेठ । जनता समाजवादी पार्टी (जसपा) आइतबार निर्वाचन आयोगमा दर्तासँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको वरीयता तल झरेको छ । पार्टीमा तीन अध्यक्ष रहने सहमतिसँगै आइतबार निर्वाचन आयोगमा दल दर्ता भएर कानुनी मान्यता पाए पनि पार्टीभित्रको वरीयता विवाद भने टुंगिएको छैन ।
आयोगमा बुझाएको दस्ताबेजअनुसार जसपाको पहिलो वरीयतामा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुर रहने भएका छन् भने दोस्रो वरीयतामा तत्कालीन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन् । पार्टीभित्र यादव र ठाकुर दुवै कार्यकारी अध्यक्ष रहने सहमति भएको छ ।
आइतबार वरीयता विवाद मिलेपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको हो । निर्वाचन आयोगमा दर्ता गर्नुअघि डा. भट्टराईलाई दोस्रो वरीयताको अध्यक्ष बनाइएको थियो । निर्वाचन आयोगमा पुग्दापुग्दै उनी एकैपटक चौथो नम्बरमा झरेका हुन् । उनको नाम ‘टिपेक्स’ले मेटेर बाबुरामलाई अशोक राईभन्दा तल अर्थात् चौथो क्रमको वरिष्ठ नेता भनिएको छ ।
उनलाई संघीय परिषद्को अध्यक्ष भनिएको थियो । तत्कालीन समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराई भने चौथो वरीयतामा रहे पनि यो मिल्दै जाने प्रक्रियाअन्तर्गत रहेको जानकारी नेताहरूले दिएका छन् ।
उनलाई संघीय अध्यक्ष बनाउने सहमति भने पार्टीभित्र कायमै छ । यसअघि उनलाई पहिलो वरीयतामा राखिएको थियो । तर, दल दर्ताअघि भएको वरीयता विवादका कारण भट्टराईलाई चौथो वरीयतामा झारिएको एक सदस्यले जानकारी दिए । शनिबार र आइतबार चलेको छलफलपछि पार्टी दर्ता गर्न निर्वाचन आयोग पठाइएको हो ।
कार्यसमिति र केन्द्रीय नेतृत्वको वरीयतामा सहमति गरेर कागज तयार गर्दा ठाकुर, भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको थियो । निर्वाचन आयोगमा दर्ता गर्दा डा. भट्टराईलाई अशोक राईपछिको वरिष्ठ नेता बनाइएको जसपाका नेताहरूले बताए । अर्को वरिष्ठ नेतामा राजेन्द्र महतोको नाम छ । उनलाई संसदीय दलको नेता पनि बनाउने सहमति भएको छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।









