राजनीति

जनताले दिएको कुर्सीमा बसेर भारतको चाप्लुसी नगर्न सांसद पहारीको चेतावनी



पोखरा, ३२ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका केन्द्रीय अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले नेपाली जनताले तिरेको करबाट राज्यको सेवा सुविधा खाएका जनप्रतिनिधिले भारतको गीत गाउने कार्य तत्काल बन्द गर्नुपर्ने बताउनुभएको छ ।

लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटीएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा संघिय संसदको प्रतिनिधिसभाबाट २ सय ५८ मत खसेकोमा २ सय ५८ जनाले नै समर्थमा मत दिई सर्वसम्मतीमा पारित भएसँगै पोखरामा गरिएको अनौपचारीक कार्यक्रममा बोल्दै सांसद पहारीले संघिय संसदको प्रतिनिधिसभामा जनता समाजवादी पार्टी (जसपा)का सांसद सरिता गिरी तथा नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंले संविधान संशोधन तथा नेपालको राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डतालगायतको विरुद्धमा संसद तथा मिडियामा दिएको अभिव्यक्ति प्रति लक्षीत गर्दै उहाँले नेपाली जनताले दिएको कुर्सीमा बसेर कसैले पनि भारतको चाप्लुसी गर्ने काम नगर्न चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डतालगायतका कुराहरुको विरुद्धमा धावा बोल्ने कसैलाई अधिकार छैन । नेपाली जनताले दिएको कुर्सीमा बसेर कसैले पनि भारतको चाप्लुसी गर्ने काम नगरौं । नेपाली जनताको मानो खाएर कसैले पनि भारतको गाना गाउने काम तत्काल रोकैं ।’

प्रधानमन्त्री केपी ओलीलाई आम नेपाली तथा नेपालप्रति शुभेक्षा राख्नेको तर्फबाट धन्यवाद रहेको बताउँदै उहाँले अहिले प्रधानमन्त्री केपी ओलीको नेतृत्व सवै राजनीतिक पार्टीहरु तथा सिङगो राष्ट्र एक ढिक्का भएर गुमेको भूमि फिर्ता ल्याउने कार्यमा अघि बढिरहेको बेला कथित स्वतन्त्र युवाहरुको नाममा भारतलगायतका देशरुको स्वार्थ पूर्तीको लागि सडक आन्दोलन गरिएको छ त्यस्तो राष्ट्र विरोधी गतिविधि नगर्न चेतावनी समेत दिनुभयो ।

नेपालको राष्ट्रिय अखण्डता तथा नेपालको भूमि आफ्नो रगत तथा प्राणभन्दा प्यारो रहेकाले उल्लेख गर्दै उहाँले भारतद्वारा अतिक्रमित तथा गुमेको नेपालको भूमि फिर्ता लिएरै छोड्ने प्रतिवद्धता समेत जनाउनुभयो ।