काठमाडौँ, ७ असार । आज विहान खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने र तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट ग्रहण देखिने छ । शास्त्रीय मान्यताअनुसार असार ६ गते राति १०ः५० देखि बाल, वृद्ध र बिरामी बाहेक अरुलाई भोजन निषेध गरिएको छ ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ । ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी र सो सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने अन्य कामलाई ग्रन्थमा उल्लेख गरिएको छ ।
सूर्यग्रहण मृगशिरा र आद्र्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने साथै सूर्यग्रहणको फल राशिअनुसार फरक रहेको छ ।
मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।
मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्न हुन्छ । अरु आठ राशि भएका मानिसले भने सूर्यग्रहण हेर्नुहुँदैन भन्ने मान्यता छ । यस वर्ष नेपालबाट देखिने असार ७ गतेको सूर्यग्रहण मात्र रहेको समितिले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्