राजनीति

सरिता गिरीलाई पार्टीले सोध्यो स्पष्टीकरण



काठमाडौँ, ९ असार । जनता समाजवादी पार्टी (जसपा)को नेतृ तथा प्रतिनिधिसभाको सांसद सरिता गिरीसँग पार्टीले सात दिनभित्र आफ्नो लिखित स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

नेपालले आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेकोमा लगातार विरोधमा अभिव्यक्ति दिएर विवादमा आउनुभएकी सांसद गिरीले नयाँ नक्साका आधारमा निशान छाप परिमार्जन गर्नका लागि सरकारले संविधान संशोधनका लागि सरकारले दर्ता गराएको विधेयकको विरोधमा उभिनुभएको थियो ।

सांसद गिरीको विषयमा छलफल गर्न सोमबार पदाधिकारीको बैठक बसेको थियो । स्पष्टीकरण आएपछि कारबाही गर्ने नगर्ने विषयमा पार्टीले थप निर्णय लिने जसपाले जनाएको छ । समाजवादी पार्टी स्रोतका अनुसार स्पष्टीकरण चिक्तबुझ्दो नआए उहाँलाई संसदबाट कारबाही गर्ने निर्णय छ ।

सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर जारी गरेको नेपालको नयाँ राजनीतिक नक्सा संविधानको अनुसूचीमा समावेश गर्न संसदमा पेश गरेको संविधान संशोधन विद्येयकविरुद्ध गिरीले संशोधन दर्ता गराउनुभएको थियो । त्यसलगत्तै समाजवादीको संसदीय दलको बैठकले उहाँलाई संसोधन फिर्ता लिन निर्देशन दिएको थियो तर उहाँले आफ्नो संसोधन फिर्ता लिनुभएको थिएन र, संसद बैठक बहिष्कार गर्नुभएको थियो ।