विश्व

भारत र चीनबीच भयो यस्तो सहमति



काठमाडौँ, १० असार । लद्दाख क्षेत्रमा उत्पन्न तनाव कम गर्न चीन र भारतबीच सहमति भएको छ । भारत र चीनले विवादित सीमा क्षेत्रबाट आ-आफ्ना सेना फिर्ता गर्ने विषयमा सहमति गरेका हुन ।

पूर्वी लद्दाखको गलवान उपत्यकामा जुन १५ गते दुवै सेनाबीच झडप भएपछि भएको निरन्तरको वार्तामा दुवै पक्षका सेना आआफ्नो ठाउँबाट पछि हट्ने विषयमा सहमति भएको रोयटर्सले जनाएको छ । भारतीय सञ्चारमाध्यमले पनि भारत र चीन दुवै देशले आआफ्ना सैनिक विवादित क्षेत्रबाट फिर्ता गर्ने सहमति गरेका जनाएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाङले भारत र चीन दुवै देशले विवाद अन्त्यका लागि सहमति गरेको बताउनु भयो । सहमतिसँगै तत्कालका लागि भारत र चीनबीचको तनाव कम भएको छ । दुवै सेनाबीचको जुन १५ को हिंसात्मक झडपमा एक उच्च अधिकारीसहित भारतीय सेनाका २० जनाले ज्यान गुमाएका थिए ।