काठमाडौँ, १५ असार । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भनिएको प्रतिवेदन कुन कारखानामा बन्यो भनेर खोजी भइरहेको बताएका छन् ।
आज राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले चीनले सात स्थानमा नेपालको सीमा मिचेको भनेर आएको समाचारको खण्डन गरेका छन् ।
मन्त्री ज्ञवालीले नेपाल चीन सीमामा कुनै समस्या नभएको बताउदै उनले भने, दुई देशबीच औपचारिक सीमा निर्धारण हुनुअघि नै रुई र साना गाउँ लेकबेंसी जस्तो थियो । दुई देशले सीमा निर्धारण गरेपछि ११० घर कुरियालाई कता बस्ने भनेर रोज्न दिएको भन्दै उनले भने, ६० घर कुरियाले रुई र ४० घर कुरियाले यता बस्ने भनेर रोजे । त्यहाँ जबरजस्ती भएको होइन।’
उनका अनुसार वि. सं. २०१६ चैत ९ मा भएको सीमा सम्झौता र २०१८ असोज १९ मा भएको सीमा सन्धिअनुसार ९८ वटा बाउन्ड्री मार्कर (सीमा चिह्न) बनेको छ । निकै विकट भएका कारण सीमा चिह्न ३७ र ३८ कोर्न सकिएको छैन ।
नेपाल, भारत र चीनको त्रिदेशीयबिन्दु तोक्न बाँकी छ । नेपाल र भारतको सीमा विवाद समाधान भएपछि त्रिदेशीय बिन्दु निर्धारण गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।
दुई देशबीच भएको सहमतिअनुसार नेपाल चीन सीमामा जीपीएस जडान गर्न बाँकी छ । मन्त्री ज्ञवालीले भने, ‘यसबाहेक नेपाल चीन सीमामा अरू कुनै समस्या छैन ।’
तर चीनले नेपाली सीमा अतिक्रमण गरेको समाचार कसरी आए ? फेक प्रतिवेदन कहाँ तयार भयो ? भनेर सरकारले खोजी गरिरहेको बताउदै उनले भने, ‘त्यो सो कल्ड प्रतिवेदन कुन कारखानामा तयार भयो भनेर हामीले खोजी गरिरहेका छौं । त्यसमा संलग्नहरूलाई गम्भीरतापूर्वक कानुनी दायरामा ल्याउने छौं ।’
परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–भारत सीमा विवाद कूटनीतिक सम्वादबाटै समाधान गर्ने बताए । यो इतिहासले गाँठो कसेर छोडेको विषय भएको तर अहिले सम्वादबाटै समाधान हुन्छ, गर्नुपर्छ र गर्न सकिन्छ भन्नेमा सरकार प्रष्ट रहेको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्