काठमाडौँ, २४ असार । संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण उत्तर कोरियासँग प्रायः देश टाढै रहन्छन् । काठमाडौँमा उत्तर कोरियाको दूतावास त छ, तर सामान्य कूटनीतिक सम्बन्धबाहेक कोही पनि सम्पर्कमा जान चाहँदैनन् ।
नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल भने उत्तर कोरियाली तत्कालीन शासक किम इल सुङको स्मृतिसभामा प्रमुख अतिथि बनेर सोमबार दूतावास गए । ललितपुरको झम्सीखेलस्थित उत्तर कोरियाली दूतावासको सभाहलमा स्मृतिसभा राखिएको थियो । उत्तर कोरियाका तत्कालीन नेता किम इल–सुङको सन् १९९४ जुलाई ८ मा निधन भएको थियो । उनी सन् १९१२ अप्रिल १५ मा जन्मिएका थिए । उनले सन् १९४८ देखि १९९४ सम्म उत्तर कोरियामा शासन गरेका थिए । दूतावासले किम इल सुङको २६औं स्मृतिदिवस मनाएको हो । स्मृतिसभामा नेकपाका वरिष्ठ नेता नेपालले किम इल सुङले उत्तर कोरिया निर्माणमा खेलेको भूमिकाको चर्चा गरेका थिए । उनले उत्तर कोरिया र नेपालको सम्बन्ध एवं इतिहासबारे आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनलगायत दूतावासका अधिकारीहरूको उपस्थिति थियो । उक्त अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति थिएन । उनीहरू उत्तर कोरियाली कार्यक्रममा जाँदैनन्। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्