Banner News

अहिले आन्दोलनमा जस्तै माग राख्ने, दबाब दिने र सम्झौता गरेर जाने विषय हैनः मन्त्री नेम्वाङ



काठमाडौँ, २९ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोरोना संक्रमणले आक्रान्त बनेको वर्तमान समय आन्दोलनमा जस्तै माग राख्ने, पूरा गर्न दबाब दिने र सम्झौता गरेर जाने विषय नभएको बताउनुभएको छ ।

आइतबार विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेका यातायात व्ययवसायीसँग कुरा गर्दै मन्त्री नेम्वाङले विशेष परिस्थितिका कारण बन्द हुन पुगेको अवस्थामा विभिन्न माग राखेर सवारी साधन सञ्चालन नगर्नु व्यवहारिक नहुने बताउनुभएको छ । उहाँले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको समय आन्दोलनमा जस्तै माग राख्ने, पूरा गर्न दबाब दिने र सम्झौता गरेर जाने विषय हैन । सबै क्षेत्रका व्यवसायीलाई सरकारले समान व्यवहार गर्ने भएकाले अन्य क्षेत्र खोलिसक्दा पनि व्यवसायीहरुले माग राख्दै खोल्दिन भन्नु हुँदैन । व्यवसायीका सबै चाहन सरकारले पूरा गर्न सक्छ कि सक्दैन भन्ने कुरामा विचार गर्नुस् ।’

यातायात व्यवसायीहरुले भने आफूहरुसँग छलफल नगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेकामा असन्तुष्टि जनाए । व्यवसायीहरुले चालक र सहचालकलाई सुरक्षित नगर्दासम्म समस्या हुने भएकाले आवश्यक स्वास्थ्य सामग्रीसहित व्यवसायीका समस्या सम्बोधन गर्न माग गरेका छन् । लकडाउन खुकुलो पार्दै जाँदा सरकारले असार २३ गते सार्वजनिक यातायात खोल्ने निर्णय गरेको थियो ।