Banner News

परराष्ट्र मन्त्रालयको तीन बुँदे स्पष्टिकरण: प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिन्न



काठमाडौँ, ३१ असार । परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिने बताएको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशय थिएन ।’

प्रधानमन्त्री ओलीले आइतबार भगवान राम भारतीय नभएको र असली अयोध्या वीरगञ्ज नजिकै ठोरीमा पर्ने दाबी गर्नुभएको थियो । तर परराष्ट्रले भने प्रधानमन्त्रीले श्रीराम र उहाँसँग सम्वद्ध स्थानबारे धेरै किंवदन्ती रहेको र नयाँ तथ्यहरु प्राप्त गर्न रामायणले प्रतिनिधित्व गर्ने गहन सांस्कृतिक भूगोलको थप अध्ययन, अनुसन्धानको महत्वमाथि जोड मात्र दिएको बताएको छ । ‘प्रधानमन्त्रीको टिप्पणीले अयोध्याको महत्व र साँस्कृतिक मूल्यलाई अवमूल्यन गर्ने उद्देश्य राखेको छैन’ विज्ञप्तिमा भनिएको छ ।

साथै विवाह पञ्चमीमा प्रत्येक वर्ष भारतको अयोध्याबाट जनकपुरमा जन्ती आउने तथा २०१८ मा दुई देशका प्रधानमन्त्रीले रामायण सर्किटको उद्घाटन गरेको स्मरण गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ, ‘यी तथ्यहरुले दुई देश र जनताबीचको सांस्कृतिक समानतालाई संकेत गर्छन् ।’

परराष्ट्र मन्त्रालयको वक्तव्यको अनौपचारिक नेपाली अनुवाद

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आदिकवी भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती समारोहमा व्यक्त गर्नुभएका विचारहरुलाई लिएर भइरहेका विविध व्याख्याहरुमाथि सरकारको ध्यानाकर्षण भएको छ । उक्त सन्दर्भलाई परराष्ट्र मन्त्रालय यसप्रकारले स्पष्ट पार्न चाहन्छ :

१. प्रधानमन्त्रीको टिप्पणी कुनै राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावना र संवेदनालाई चोट पु¥याउने आशय राखिएको थिएन ।

२. श्रीराम र उहाँसँग सम्वद्ध स्थानहरुका बारेमा धेरै किंवदन्ती र भनाइहरु छन् । प्रधानमन्त्रीले श्रीराम र उहाँसँग जोडिएका विभिन्न स्थानहरुका बारे नयाँ तथ्यहरु प्राप्त गर्न रामायणले प्रतिनिधित्व गर्ने गहन सांस्कृतिक भूगोलको थप अध्ययन र अनुसन्धानको महत्वमाथि सामान्य जोड दिनुभएको हो ।

३. टिप्पणीले अयोध्याको महत्व र सांस्कृतिक मूल्यलाई अवमूल्यन गर्ने उद्देश्य राखेको छैन ।

स्मरणीय यो छ कि विवाह पञ्चमी समारोहको परम्पराजसमा भारतको अयोध्याबाट जनकपुरमा जन्ती आउने गर्छन्प्रत्येक वर्ष आयोजना हुँदै आएको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीले सन् २०१८ को मे महिनामा रामायण सर्किटको उद्घाटन गर्नुभएको थियोजसमा जनकपुरअयोध्या यात्रु बस सेवा एउटा महत्वपूर्ण तत्वका रुपमा रहेको छ । यी तथ्यहरुले दुई देश र जनताबीचको सांस्कृतिक समानतालाई संकेत गर्छन् ।