काठमाडौँ, ३१ असार । गृहमन्त्री थापाले भारतले नेपालमाथि सदियौं देखी पटक पटक हस्तक्षेप गरेको स्पष्ट पार्नुभएको छ ।
सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था समिति बैठकमा मन्त्री थापाले सीमा अतिक्रमण, एक पक्षिय नहर निर्माण, सीमामा निर्मित संरचना, प्रकृतिको दुरुपयोगलगायतका दुई मुलुकबीचको सम्झौता विपरित कार्य गरी नेपाललाई समस्यामा पारेको बताउनुभयो । भारतद्वारा सीमामा निर्मित संरचना हटाउन गरेको पहल सार्थक हुन नसकेको उहाँले स्वीकार गर्नुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा पनि डुबान समस्याबारे छलफल भएको बताउँदै गृहमन्त्री थापाले उक्त क्रममा भएको अध्ययन टिमलाई समेत कार्यान्वयनमा नगरेको बताउनभुयो । ‘नेपालको तर्फबाट निरन्तर पहल गरेका छौं, तर सार्थकता प्राप्त गरेको छैन’, उहाँले भन्नुभयो, ‘उनीहरूले आफ्नो रक्षाका निम्ति बाँध, बाटो बाँध बनाए, आफ्नो हित मात्र हेरे । प्रधानमन्त्री मोदी नेपाल आउँदा अध्ययन गर्न एउटा टिम पनि बनेको छ, तर त्यसलाई उनीहरूले कार्यान्वयन गरेनन् ।’
भारतले नेपाललाई नसोधी नेपाली भूभाग डुबानमा पर्नेगरी संरचना विकास गरेको बताउँदै गृहमन्त्रीले भन्नुभयो, ‘भारतले नेपालमा गरेको हस्तक्षेपको प्रमाण हो, यो ।’ विपत व्यवस्थापनमा भने सरकारले राम्रो काम गरिरहेको दाबी गर्दै मन्त्री थापाले विकास निर्माण कमजोर हुँदा नेपालले बढी क्षति बेहोर्नुपरेको जनाउँदै भन्नुभयो, ‘विपत प्राकृतिक हो भने क्षति मानव निर्मित हो । यसमा प्रकृतिलाई दोष दिएर त हुन्न । प्रकृतिको दुरुपयोग गर्दा, कमजोर ठाउँमा बसोबास गर्दा वा कमजोर संरचनाका कारण बढी क्षति बेहोर्नुपरेको छ ।’










प्रतिक्रिया दिनुहोस्