काठमाडौँ, ६ साउन । भोलीदेखि पश्चिम क्षेत्रबाट वर्षा क्रमशः कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सरजुकुमार वैद्यले दिएको जानकारीअनुसार भोलिबाट पश्चिममा वर्षा कम हुँदै गए पनि प्रदेश १, २, गण्डकी र बागमती प्रदेशमा भने अझै केही दिन वर्षा जारी रहने छ ।
साउन चार गतेदेखि निम्नचापीय रेखा नेपालको ठीक माथि छ । त्यसैले देशभर मध्यमदेखि भारी वर्षा हुँदै आएको छ । महाशाखाका अनुसार मनसुनी निम्न चापीय रेखा साउन ९ गतेदेखि दक्षिण जाने छ ।
महानिर्देशक वैद्यका अनुसार निम्न चापीय रेखा दक्षिणतर्फ सर्दै गएमा भारतमा धेरै वर्षा हुन्छ भने नेपालमा सुक्खा हुन्छ । मौसम विज्ञान विभागका अनुसार तीन दिनयता गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ मा भारी वर्षा मापन भएको छ ।
महानिर्देशक वैद्यले भने, ‘जुन १ देखि आज विहानसम्म परेको पानीको अवस्था हेर्दा औसतभन्दा बढी पानी परेको अवस्था जनाउँछ ।’ हालसम्म जोखिम क्षेत्रका बासिन्दालाई ५० लाख १७ हजारभन्दा धेरै एसएमएस पठाएर सतर्क रहन भनिसकिएको विभागले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्