राजनीति

व्यवसाय खोल्ने तयारी गर्नुहोस्: मन्त्री भट्टराई



काठमाडौँ, ६ साउन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले साउन १५ देखि व्यवसाय खोल्ने तयारी गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले हवाई उड्डयन, होटल, ट्रयाकिङ लगायतका क्षेत्र सञ्चालनका लागि पोर्टोकल बनाइएको बताउनुभयो । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन अहिले देखि नै तयारी गर्न पनि मन्त्री भट्टराईले आग्रह गर्दै उहाँले पर्यटकको संख्या बढाउन भन्दा पनि धेरै खर्च गर्न सक्ने गुणस्तरीय पर्यटन ल्याउनेतर्फ गृहकार्य गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

कोभिडका कारण पर्यटन क्षेत्रमा धेरै असर परेको र त्यसको सम्बोधन नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबाट अधिकतम रुपमा भएको बताउँदै उहाँले केही विषय छुटेको भए राष्ट्र बैंकले विभिन्न समयमा ल्याउने कार्यविधिबाट सम्बोधन गराउन मन्त्रालयले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।