समाचार

फेसबुक ह्याक गरेर रकम असुली गर्ने एक जना पक्राउ



काठमाडौँ, १२ साउन । फेसबुक ह्याक गरेर रकम असुली गरेको अभियोगमा सुनसरीको दुहबीबाट २३ वर्षीय सविर आलम पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरेर आलमलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार आलमले विभिन्न व्यक्तिको फेसबुकमा अनाधिकृत रुपमा पहुँच बनाएर ती व्यक्तिको आफन्तसँग पैसा अत्यावश्यक भएको भन्दै १० हजारदेखि ५० हजार रुपैयाँसम्म माग्ने गरेको पाइएको छ ।

अफ्ठ्यारोमा रहेको बताउँदै साथीको खाता भनेर आफ्नो बैंक खाता नम्बरमा उनले रकम पठाउन लगाउने गरेका र ठगिएको ५० हजार रुपैयाँ निकाल्दा निकाल्दै उनलाई सुनसरीमा पक्राउ गरेका हो । हालसम्म आलमले ७५ हजार रुपैयाँ ठगी गरेको जाहेरी परेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।