काठमाडौँ, २० साउन । संघीय राजधानी काठमाडौंसहित देशभर कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग सामूहिक परामर्श गर्दै छन् । समुदायमै कोरोना फैलिएर भयावह अवस्था आउन सक्ने भन्दै सर्वस्त्र चिन्ता व्यक्त गर्न थालिएपछि प्रधानमन्त्री ओलीले भावी रणनीति तय गर्न मंगलबार छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार २० भन्दा बढी विज्ञसँग छलफल गर्ने तय भएको छ । विज्ञको सुझावअनुसार सरकारले आगामी रणनीति तय गर्नेछ ।
लकडाउन लगाउनुअघि प्रधानमन्त्री ओलीले गत चैत १० मा २५ जना विज्ञसँग छलफल गरेका थिए। त्यतिबेला विज्ञको सुझावअनुसार झन्डै चार महिना लकडाउन गरिएको थियो । ‘अहिलेको अवस्था हेर्दा सरकारले केही न केही त उपाय अपनाउनै पर्ने भएको छ’, एक मन्त्रीले अन्नपूर्णसँग भने, ‘मंगलबार विज्ञहरूको सुझाव लिऔं। अनि, सरकारले के गर्ने भन्नेमा निर्णय गर्छ ।’
साउन ७ मा लकडाउन अन्त्यपछि नागरिकमा हेलचेक्र्याइँ देखिएको छ । बजारलगायत सार्वजनिक स्थलमा भीडभाड बढेको छ । भारतलगायत देशबाट आउनेलाई सीधै घरपरिवारको सम्पर्कमा जान दिइएको छ । यस्ता गतिविधिका कारण समुदायमा कोरोना फैलिएको विज्ञको भनाइ छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्