एजेन्सी, २२ साउन । लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ भने चार हजारभन्दा धेरै मानिस घाइते भएका छन् ।
मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा भयानक विष्फोट भएको थियो । राष्ट्रपति माइकल आउनका अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका छन् ।
लेबनान सरकारले यो विष्फोटको अनुसन्धान सुरु गरिसकेको जनाएको छ । अनुसन्धानका लागि बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको छ ।
विष्फोट यति भयानक थियो कि त्यसको आवाज करिब २४० किलोमिटर टाढा रहेको साइप्रससम्म सुनिएको थियो । दोस्रो विश्व युद्धमा अमेरिकाले जापानको हिरोसिमामा खसालेको अणु बमको शक्तिको १० भागको एक भागजति शक्तिशाली विष्फोट बेरुतमा भएको उनीहरुले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्