राजनीति

हनुमन्ते प्लानिङ र कोरिडोर निर्माण प्रकृया अगाडी बढ्यो: उपभोक्ता (सहयोग) समिति गठन



भक्तपुर, २३ साउन । भक्तपुरको विकास र समृद्धिको महत्वपूर्ण आयोजनाको रुपमा रहेको हनुमन्ते नदीको कोरिडोर निर्माण प्रकृया अघि बढेको छ । केही समय अघि देखि केही जनप्रतिनिधिहरुकै विरोधका कारण रोकिएको कोरिडोर निर्माण प्रकृयाले सार्थकताको बाटो तर्फ उन्मुख भएको छ । यो कोरिडोर निर्माण सम्पन्न भएसँगै भक्तपुरमा अरनिको राजमार्गको बैकल्पीक सडकको रुपमा प्रयोग हुनेछ । त्यतीमात्र नभई प्रायः दैनिक जसो भक्तपुरमा हुने सवारी दुर्घटना तथा ट्राफिक जामको समेत करिव अन्त्य हुनेछ ।

कोरिडोरको निर्माण प्रकृया अघि बढेसँगै जनतामा उत्साह छाएको छ । प्रत्येक वर्ष वर्षा याम शुरु भएसँगै बाढीका कारण ठूलो धनजनको साथमा भौतिक सम्पत्ती तथा मानविय क्षती समेत अन्त्य हुने भएको भन्दै जनतामा खुसी छाएको छ । कोरिडोर निर्माणलाई अघि बढाउन उपभोक्ता भेला सम्पन्न भई उपभोक्ता (सहयोग) समिति समेत गठन गरिएको छ । यस क्रममा स्थानीयवासीले कोरिडोर बनाउन नेतृत्व गर्ने जनप्रतिनिधि जनताको लागि भगवानको रुपमा रहने र विरोध गर्ने राक्षसको रुपमा स्थापीत हुने समेत बताएका छन् ।

कोरिडोर निर्माणको लागि नेपाल सरकार संघिय मन्त्रालय अन्तरगत उच्च स्तरिय बागमती आयोजनाबाट तीन खण्ड गरेर करिव दुई अर्व तथा मेलम्ची आयोजना कार्यान्वयन इकाईले करिडोरका दायाँ बाँया ढल राख्न करिव ८० करोडभन्दा बढी रकम विनियोजन गरेको छ ।

लामो समयसम्म विवाद सिर्जना भई निर्माण कार्य अघि बढ्न नसकेको हनुमन्ते कोरिडोरको कामलाई अघि बढाउन स्थानीय जनताको माग र आवश्यकतालाई मध्यनजर गर्दै विहिवार उपभोक्ता समिति गठन गरेको छ । हनुमन्ती नदी जग्गा एकीकरण आयोजना उपसमितिको निर्णय अनुसार कोरिडोर निर्माणको लागि पाँच वटा क्लस्टर मध्ये क्लस्टर नं. १ को समिति गठन गरिएको हो । समितिले आफ्नो क्षेत्रभित्रका समस्या समाधानको पूर्ण अधिकारसहित गठन गरिएको छ । जसले अबका दिनमा कोरिडोर निर्माणका क्रममा रहेका स्थानीयको समस्या समाधान गर्ने र निर्माणलाई तिव्र गतिका साथ अघि बढाउन पूर्ण रुपमा साथ र सहयोग गर्नेछ । राजकुमार जोशीको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरेको छ । महन्त शंखदेव सह(संयोजक रहनुुभएको छ भने सदस्यहरुमा सूर्यलाल श्रेष्ठ, उमेश क्षेष्ठ, चन्द्र केशव श्रेष्ठ, कान्छा त्वयना, राजेन्द्र प्र। प्रजापती, रोजन श्रेष्ठ, रविन्द्र भासिमा, गोपाल जोशी, सुरेन्द्र भासिमा, दिलकृष्ण तज (जिवन), अञ्जली भासिमा, मदन साहु श्रेष्ठ, पुण्यश्वरी प्रजापति, राधालक्ष्मी प्रजापति, भिमनाथ श्रेष्ठ, भिम प्रताप भण्डारी, रोजन प्रजापति, नयन ब. श्रेष्ठ, जुन श्रेष्ठ रहनुभएको छ ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अब कोरिडोर निर्माण प्रकृयालाई कसैले रोकेर नरोकिने बताउँदै कोरिडोर निर्माण सम्पन्न पश्चात हनुमन्ते नदी आसपासका स्थानीयवासिन्दाको डर र त्रासको दिन समाप्त हुने बताउनुभयो । भक्तपुरको विकासको मेरुदण्डको रुपमा कोरिडोर रहेको उल्लेख गर्दै उहाँले अरनीको राजमार्गको बैकल्पीक सडकको रुपमा समेत उक्त कोरिडोर सञ्चालन हुने भएकाले भक्तपुरमा हुने सवारी दुर्घटना तथा ट्राफिक जाम समेत कम हुने विश्वास व्यक्त गर्नुभयो ।

जनताका समस्या समाधान गर्ने गरी विभिन्न चरणका कार्यक्रमहरु भएको स्मरण गर्दै सांसद बस्नेतले दुई वर्ष अघि बालकुमारीदेखी सल्लाघारीसम्म कोरिडोर निर्माणको कार्य शुभारम्भ भएको उल्लेख गर्दै जहाँ समस्या आउँछ, त्यही समाधान गरि अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

समस्या समाधान गर्न सवैभन्दा ठूलो विश्वास रहेको उल्लेख गर्दै उहाँले विगतका नेतृत्वले गल्ती गरेको भए त्यसलाई हिम्मतका साथ सच्याउनुपर्ने र कोही पिडित भए त्यसलाई न्याय समेत दिलाउँदै अघि बढ्नुपर्ने बताउनुभयो । उक्त कोरिडोरको बजेट फिर्ता गएमा जनतालाई नै भार पर्ने उल्लेख गर्दै उहाँले फिर्ता गएको रकम हनुमन्ती जग्गा एकिकरण आयोजना सञ्चालन गर्दा १०–१२ प्रतिशतसम्म भार थपिने भएकाले बजेट कार्यान्वयनको लागि एक ढिक्का भई लाग्नुपर्ने बताउनुभयो ।

करिडोर निर्माणमा यो नभई यो गर्न दिन्न भन्ने कसैले सर्त राखेमा उसैको लागि घाटा हुने बताउँदै उहाँले भन्नुभयो, ‘अब पनि उक्त योजना रोकी बजेट फिर्ता गएमा जसले रोकेको छ उसैले जिम्मा लिनुपर्ने र आउने समस्याको समाधान समेत उसैले गर्नुपर्छ । काम शुरु तत्काल गरेमा दुई वर्षमा निर्माण सम्पन्न गर्न सकिने छ । जसले गर्दा आसपासका जनताको मात्र नभई आम भक्तपुरवासीको पिडाको दिन समाप्त हुनेछ ।’

भक्तपुरमा विकास निर्माणका क्रममा निर्माण व्यवसायीले जनप्रतिनिधिलाई एक कप चिया समेत खुवाउनु नपर्ने साथै हालसम्म कुनै रेकर्ड पनि नरहेको ठोकुवा स्पष्ट पार्नुभयो । करिडोर निर्माण गर्ने स्थानमा आफ्नो एक आना जग्गा पनि नरहेको स्पष्ट पार्दै उहाँले अपवाह फैलाउनेले आफ्नो तथा आफ्नो परिवारको नाममा एक आना जग्गा देखाएर प्रमाणीत गरे ७ रोपनी जग्गा उपहार दिने घोषणा समेत गर्नुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाको अध्यक्षतामा भएको कार्यक्रममा मध्यपुर थिमी नगपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूनपा उपप्रमुख जुना बस्नेत, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा लगायत सम्बन्धीत विभिन्न निकायका प्रतिनिधि र सरोकारवाला स्थानीयवासीको सहभागिता रहेको थियो ।