राजनीति

राष्ट्रकवि घिमिरेको निधनप्रति देउवाद्वारा दुःख व्यक्त



काठमाडौँ, ३ भदौ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले सामाजिक सञ्जालमा राष्ट्रकवि घिमिरेको निधनको खबरले मर्माहित भएको उल्लेख गर्दै राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहने उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि बिदाई लिएको बताउनुभयो ।

कवि घिमिरे स्वास प्रश्वास समस्या देखिएपछि उहाँ विगत चार महिनादेखी आफ्नै निवासमा अक्सिजन दिएर घरमा नै उपाचार गरिरहनुभएको थियो ।

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिनुभएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको हो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय हुनुहुन्थ्यो ।