समाचार

आजको मौसम



काठमाडौँ, ४ भदौ । भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव देशैभर परेकाले देशका विभिन्न भू-भागमा आज पनि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १, कर्णाली प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा वर्षा भइरहेको छ । आज दिउँसो मेघगर्जन, चट्याङसहित विभिन्न ४ वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरु भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । ती क्षेत्रमा रातिसम्म नै वर्षा हुने महाशाखाले जनाएको छ ।

रातिसम्म नै वर्षाको सम्भावना रहेको विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू (क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आह्वान गरेको छ ।