समाचार

आज तीजको दर खाने दिन



काठमाडौँ, ४ भदौ । महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ ।

भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ ।

दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको बताइन्छ ।

परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।

तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामूहिक दर खाने र तीज मनाउन सरकारले रोक लगाएको छ । आफ्ना परिवारका सदस्यहरुसँग घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेको छ ।