काठमाडौँ, १७ भदौ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक सिकाईका लागि सरकार छुट्टै डेडिकेटेड टेलिभिजन खोल्ने योजनामा अघि बढेको बताएका छन् ।
आज नेकपा निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूसँगको अन्तर्क्रियामा बोल्दै मन्त्री पोखरेलले भने, ‘मैले व्यवस्थित वैकल्पिक शिक्षाका लागि प्रधानमन्त्रीज्यूसँग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ताव लगेको छु ।’ त्यस्तो टेलिभिजनले बिहान माध्यमिक तहलाई, दिउँसो आधारभूत तहलाई र साँझ विश्वविद्यालय तहलाई सिकाइने व्यवस्था मिलाइनेछ ।’
प्रधानमन्त्रीले पनि त्यसलाई सकारात्मक रुपमा लिएको उनको भनाइ छ । मन्त्री पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर जान नदिने प्रतिवद्धता समेत दोहोर्याए । मन्त्री पोखरेलले पाठ्यभार घटाएर भएपनि पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा गरेरै छाड्ने बताए ।
कार्यक्रममा अनेरास्ववियूका संयोजक ऐन महरले वैकल्पिक सिकाईलाई सवै विद्यार्थीको पहुंचमा पुर्याउनुपर्ने धारणा राखेका थिए । यसैगरी अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले कक्षा १२ को परीक्षा वारे अविलम्ब निर्णय गर्न आग्रह गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्