विश्व

भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १० हजार नाघ्यो



काठमाडौँ, २१ भदौ । भारतमा कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा दिनानुदिन नयाँ कीर्तिमान कायम हुन थालेको छ ।

शनिबार ९० हजार ६०० जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ७७ हजार ६३७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६२ हजार ४८७ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०४४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७० हजार ६७९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।