काठमाडौँ, २६ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को करिव डेढ महिना स्थगीत भएको स्थायी कमिटीको बैठकले १५ वटा महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको आजको बैठकले पार्टी एकताको महाधिवेशन, अमेरिकी सहयोग एमसीसी, लिम्पियाधुरा, लिपुलेक, कालापानीमा आफ्नो हकभोग तथा भारतीय सेना हटाउनेलगायतका १५ वटा महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएकोछ । अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डद्वारा संयुक्त रुपमा तयार पारीएको कार्यसूचीमा केन्द्रीत भई छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा १३ जना स्थायी कमिटीका सदस्यहरुले सकारात्मक टिप्पणी गर्नुभएको र टिप्पणीकर्ताले दिएको सुझावलाई सम्बोधन गर्दै पार्टी एक ढिक्का भई अघि बढ्ने जानकारी गराउनुभयो ।
आजको बैठकले गरेको महत्वपूर्ण १५ वटा निर्णयहरु यस प्रकार रहेका छन्,
१. अध्यक्षद्वयले तयार पारेको कार्यसूची पारीत,
२. स्थायी कमिटीका सदस्यहरुले दिएको सुझावलाई सम्बोधन गर्ने,
३. पार्टीलाई सुदृढ ढंगले अघि बढाउने,
४. पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने,
५. विगतमा भएका निर्णयहरुलाई कार्यान्वयनमा लैजाने,
६. अध्यक्षद्वयको कार्यविभाजन । जसमा पार्टीको कार्यकारी अध्यक्षको भूमिका प्रचण्डलाई र सरकारको पुरै कार्यकाल केपी ओलीले गर्ने,
७. सरकारको दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर पार्टीको मार्गदर्शनमा रही सरकार अघि बढनुपर्ने,
८. महत्वपूर्ण कुराहरुको निर्णय गर्दा सरकारले पार्टीमा छलफल गर्नुपर्ने, दुई अध्यक्षबीच सहमतिमा गर्ने,
९. एकताको महाधिवेशन चैत्र २५ देखी ३० सम्म काठमाडौँमा गर्ने,
१०. कार्तिक १५–१७ सम्म महाधिवेशनको तयारी गर्न केन्द्रीय कमिटीको बैठक बस्ने,
११. लिम्पियाधुरा, लिपुलेक तथा कालापानीसहितका नेपालको भूमि र्फिता गराउने सवालमा दृढताका साथ सरकारलाई सहयोग गर्ने,
१२. नेपाली भूमिबाट भारतीय सेना हटाउन राजनीतिक तथा कुटनैतिक पहल गर्ने,
१३. कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी र व्यवस्थित भुमिका निर्वाह गर्ने,
१४. एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने, झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलको सुझावलाई विशेष ध्यान दिने,
१५. पार्टीभित्रका सैद्धान्तिक बहसलाई महाधिवेशनमा लगि समाधान गर्ने ।










प्रतिक्रिया दिनुहोस्