राजनीति

सांसद बस्नेतद्वारा हनुमन्ते कोरिडोरमा वृक्षारोपण



भक्तपुर, २७ भदौ । विश्वमा महामारिका कारण आर्थिक तथा विकास निर्माणका कार्यहरु निस्किृय तथा ढिलाई भइरहेको वर्तमान अवस्थामा काठमाडौँ उपत्यकामा लगाईएको निषेधाज्ञा केही मात्रामा खुकुलो भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको सक्रियता बढेको छ ।

विकास निर्माणलाई आफ्नो जीवनकै अभिन्न अंग जस्तै मान्ने सांसद बस्नेतले समृद्ध भक्तपुर : सुखी भक्तपुरवासीको सपनालाई व्यवहारमा उतार्ने कार्यमा तल्लिनमात्र नभई अहोरात्र खटिरहनुभएको छ । विकासका आयोजना तथा बजेटको व्यवस्था गर्नेमात्र नभई त्यसको निर्माण सम्पन्नता, गुणस्तरियता, स्थायीत्वलगायतका कुराहरु हुनुपर्नेमा जोड दिने सांसद बस्नेतको नेतृत्वमा साना तथा ठूला गरी करिव चार सय आयोजनाहरु भक्तपुरमा निर्माणको क्रममा रहेका छन् ।

कोरोनाका कारण केही मात्रामा निर्माण कार्यले सुस्तता ल्याएता पनि हिजोदेखि केही मात्रामा निषेधाज्ञा खुकुलो भएसँगै सांसद बस्नेतले आयोजनालाई निर्धारित समयमा नै गुणस्तरिय ढंगले सम्पन्न गर्न आफु, आफ्नो सचिवालय, स्थानीयवासीलगायत सम्बन्धीत निकायलाई सक्रियता बढाउनुभएको छ । यसै क्रममा आज सांसद बस्नेतको प्रमुख उपस्थितिमा मनोरम नगर समाजद्वारा मध्यपुर थिमी नगरपालिका वडा नं १ को टिकाथली जाने निलो पुलदेखि राम मन्दिरसम्मको हनुमन्ते कोरिडोरको करिव ५०० मिटर क्षेत्रफलमा, समाजकै विभिन्न संघ संस्था र व्यक्तिहरुको सहयोगमा उपलब्ध एभोगाडा र म्याकाडिएन नट (जापानिज ओखर) फलफुलका १५० वटा बिरुवाहरु सहयोगी दाताहरु बाटै स्याहारसुसार गर्ने गरी वृक्षरोपण सम्पन्न गरिएको छ ।

सोही स्थान नजिकै हुनमन्ते तथा मनोहरा नदीको संगम स्थल मनोहरा दोभानमा सांसद बस्नेतकै पहलमा काठमाडौँ, ललितपुर तथा भक्तपुर जोड्ने ठूलो पक्की पुल समेत बन्ने क्रममा रहेको छ । त्यस्तै उहाँकै पहलमा कोटेश्वर जडिबुटीमा दैनिक रुपमा घण्टौंसम्म हुने सवारी जामलाई अन्त्य गर्न वेलिव्रीजको समेत निर्माण भइसकेको छ । उक्त वेलिव्रीज सञ्चालनमा आएसँगै सवारी जामको साथ साथै अरनीको राजमार्गमा हुने सवारी दुर्घटना समेत केही मात्रामा कम हुँदै गएको छ । त्यस्तै उहाँकै पहलमा कोटेश्वर जडिबुटीको सवारी जामलाई दिर्घकालिन रुपमा अन्त्य गर्न उक्त स्थानको सडक चौडाई वृद्धि तथा हनुमन्ते र मनोहराको कोरिडोरको निर्माण कार्यले समेत व्यापक मात्रामा तिव्रता पाएको छ ।

उक्त वृक्षारोपण कार्यक्रममा स्थानीयवासीले खानेपानी, सडक, ढल, विद्युत पोल विस्तार, वातावरण सुन्दरता, प्राकृतिक मनोरम, पार्क निर्माणलगायतका धेरै कामहरुको लागि बजेटको आवश्यकता रहेकोले त्यसको सम्बोधन गरीदिन माग समेत गरेका छन् । जनता माग नै आफ्नो माग भएकाले आवश्यकतालाई मध्यनजर गर्दै आवश्यक बजेटको व्यवस्थापन गर्ने सांसद बस्नेतले प्रतिवद्धता जनाउनुभयो । उहाँले भक्तपुरमा निर्माणको क्रममा रहेका कुनै पनि आयोजनाको लागि बजेटको अभावले नरोकिने उल्लेख गर्दै हनुमन्ते कोरिडोरसँग सँगै गोदावरी कोरिडोर समेत निर्माणको क्रममा रहेको जानकारी गराउनुभयो ।

उक्त स्थानका ८ मिटरका सम्पूर्ण सडकहरु कोलोपत्रे भइसकेको उल्लेख गर्दै उहाँले कोरोनाले नेपालको अर्थतन्त्रमा गम्भिर समस्या पैदा नभए अबका दिनमा बजेटको थप व्यवस्था गरी ६ मिटरका सडकहरु समेत कालोपत्रे हुने बताउनुभयो । उक्त स्थानमा शान्ति सुरक्षा कायम गर्न स्थानीयवासीद्वारा प्रहरी चौकीको व्यवस्था गरिदिन अनुरोध भएकोमा आफ्नो ध्यान गएको बताउँदै उहाँले आगामी दिनमा प्राथकिताका साथ चौकी स्थापना तथा त्यसको व्यवस्थापन गर्न आवश्यक बजेटको पहलकदमी गर्ने प्रतिवद्धता जनाउनुभयो ।