पर्वत, २९ भदौ । पर्वतको फलेवास नगरपालिका(४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।
नवीन विकको घर पुरिँदा उनकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो । आइतबार राति २ बजेदेखि घरमाथिबाट खसेको पहिरामा पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेका हुन् ।
परिवारका अन्य व्यक्ति भने पहिरो खसिरहेका अवस्थामा भागेर बाँच्न सफल भएको फलेवास प्रहरीचौकीले जनाएको छ । पहिराले विकका दुई भैँसी र दुई गाईसमेत पुरिएका छन् । पर्वत प्रहरीका प्रवक्ता एवंम् निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार राति पहिरो खसेपछि मध्यपहाडी लोकमार्गको पर्वतखण्ड अवरुद्ध भएको छ । कुश्मा-८ चुवा र कुश्म-१ पाङको सहस्रधारामा खसेको पहिराले राजमार्ग अवरुद्ध भएको हो । त्यस्तै कुश्मा नगरपालिका-२ स्थित रिठेखोलामा आएको बाढीले समेत यातायात अवरुद्ध बनेको छ ।










प्रतिक्रिया दिनुहोस्