राजनीति

सांसद बस्नेतद्वारा ३ वटा भवनको शिलान्यास



भक्तपुर, २ असोज । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढेसँगै केही मात्रामा सुस्ताएको विकास निर्माणको कार्य लकडाउन तथा निषेधाज्ञा खुकुलो भएसँगै पुन तिव्र गतिमा अगाडी बढेको छ । कोरोनाले केही मात्रामा विकास निर्माणको कार्य ओझेलमा परेको भक्तपुरमा अहिले भने व्यापक बनेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले निषेधाज्ञा खुकुलो भएसँगै शिलान्यास तथा अन्य आयोजनालाई तिव्रता दिन भ्याई नभ्याई भएको छ । उहाँले दैनिक रुपमा शिलान्यास तथा अनुगमनलाई व्याकता दिनुभएको छ । यो सँगै भक्तपुरमा पुनः विकासको माहोल तातेको छ ।

उहाँले पछिल्लो केही दिन यता तीन वटा विद्यालयको भवन शिलान्यास गर्नुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण आयोजना इकाई (शिक्षा)द्वारा विनियोजित बजेटबाट सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित शान्ति निकेतन माध्यमिक विद्यालय, वडा नं ७ (साबिक गुण्डू-८)को ज्योती माध्यमिक विद्यालय तथा वडा नं ७ गुण्डूको पुरानो भैरवी आधारभूत विद्यालयको चार कोठे पक्की भवन, सुविधा सम्पन्न शौचालय र शुद्ध खानेपानीको सहितको व्यवस्थित भवनहरु शिलान्यास गर्नुभएको छ । शान्ति निकेतन एडिवीको सहयोगमा ४ करोड ९७ लाखको लागतमा १२ कोठे तीन तल्ले भवनको शिलान्यास गरिएको हो ।

कार्यक्रममा बोल्दै सांसद बस्नेतले विगतमा जनप्रतिनिधि नभएको समयमा सामुदायीक तथा सरकारी विद्यालयप्रति अभिभावकको नीजि विद्यालय प्रतिको मोहलाई पुनः सरकारी तथा गुमेको विश्वासलाई फिर्ता ल्याउने क्रममा रहेको बताउनुभयो । भक्तपुरमा भुकम्प पछि ८४ वटा विद्यालयका भवनहरु निर्माण भइसकेका जानकारी गराउँदै उहाँले सूर्यविनायक नगरपालिकाले शिक्षाको गुणस्तर तथा भौतिक पूर्वाधारको विकास गर्न महत्वपूर्ण नेतृत्व लिएकोमा विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

विज्ञान, प्रविधि तथा व्यवहारिक शिक्षा अहिलेको आवश्यकता रहेको औंल्याउँदै उहाँले शिक्षकको क्षमता अभिवृद्धि गर्नुपर्ने जरुरी रहेको बताउनुभयो । शिक्षाको गुणस्तरियतालाई वृद्धि गर्न अभिभावक तथा विद्यार्थीहरुले दिएको सुझावलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउँदै उहाँले विद्यार्थी कम भएका विद्यालयलाई मर्ज गरी विद्यालय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सामुदायीक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन स्कुल बसको व्यवस्थापन गरी विद्यार्थीलाई सहजता दिनुपर्ने, चेली पढाउन तथा छोरी पढाउन अभियान सञ्चालन गर्नुुपर्नेलगायतका जनआपेक्षकृत कार्यक्रमहरु ल्याई शिक्षाको गुणस्तर तथा आकर्षलाई बढाउनु वर्तमान समयको आवश्यकता रहेको समेत औंल्याउनुभयो । शिक्षामा रहेको खाडललाई अन्त्य गर्न शिक्षा क्षेत्रको सुधारको लागि पब्लिक, प्राभईभेट र पाट्नरसिपको मोडमा जानुपर्नेमा समेत उहाँको जोड रहेको थियो ।

सरकारले समेत अनिवार्य शिक्षाको व्यवस्था तथा भर्ना अभियानहरु सञ्चालन गरिरहेको जसले गर्दा नेपालमा करिव ९८ प्रतिशत वालवालिका शिक्षाको पहुँचमा आवद्ध भएको जानकारी गराउँदै उहाँले दिवा खाजा, एक विद्यालय एक नर्सको व्यवस्था, कम्युटर शिक्षा, छात्राहरुको लागि सेनेटरी प्याडको निशुल्क व्यवस्था जस्ता जनमुखी कार्यक्रमहरु सरकारले ल्याएको बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, वडा नं. ८ का वडाध्यक्ष किरण थापा, वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटालगायतले शिक्षाको विकास र गुणस्तरियताको बारेमा धारणा राख्नुभयो ।