Banner News

आज संविधान दिवस : देशभर विविध कार्यक्रम गरि मनाइँदै



काठमाडौँ, ३ असोज । आज असोज ३ अर्थात् संविधान दिवस । देशभर विविध कार्यक्रम गरेर संविधान दिवस मनाइँदैछ ।

सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले आजबाट पाँच वर्ष पुरा भएको छ । वि.सं.२०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको थियो ।

वि.सं. २०७२ असोज ३ गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा गरेका थिए । सरकारले आज संविधान दिवसको अवसरमा टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

संविधान जारी भएका पाँच वर्षमा आइपुग्दा यसले परिकल्पना गरेको नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रअनुरुप तीन तहको सरकारको संरचना तयार गरी पूर्ण रुपमा कार्यान्वयनमा आएको छ ।

संविधान जारी भएपछि संविधानअनुरुपका कानून निर्माणमा समय बितेको देखिन्छ । हालसम्म सङ्घमा १५८ कानून निर्माण भएका छन् । प्रदेशमा नं १ मा २६ वटा र ४ स्थानीय तहमा ४ चार कानून बनेका छन् ।

प्रदेश नं २ मा २१ वटा, २ स्थानीय तहमा २ कानून बनेका छन् । बागमती प्रदेशमा २४ वटा, १३ स्थानीय तहमा १३ वटा कानून बनेका छन् ।गण्डकी प्रदेशमा २७, १८ स्थानीय तहमा १८ वटा कानून, प्रदेश नं। ५ मा ३१, २ स्थानीय तहमा ७ वटा कानून बनेका छन् ।

कर्णाली प्रदेशमा २१ र १९ वटा स्थानीय तहमा १९ कानून र सुदुरपश्चिम प्रदेशमा २७ वटा र ८८ स्थानीय तहमा १०३२ कानून बनेका छन् ।नेपालको संविधानअुनसार सङ्घले संविधानसँग नबाझिने गरी कानून बनाउँछ । सोहीअनुरुप प्रदेश र स्थानीय तहले कानून बनाउनुपर्ने हुन्छ ।