राजनीति

महाँकाल गाउँपालिकाद्वारा बाढी पहिरोबाट सतर्क रहन आग्रह



ललितपुर, ९ असोज । महाँकाल गाउँपालिकाले गत ५ गतेदेखि परेको अबिरल वर्षाका कारण पालिका क्षेत्रभित्र पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । संकट आइपरेमा सम्बन्धित वडाका जनप्रतिनिधि, प्रहरी चौकी र गाउँ कार्यपालिकामा सूचना दिन गाउँपालिकाले सरोकारवाला सबैलाई आग्रह गरेको हो । बिहिवार महाँकाल गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै संभावित जोखिमबाट बच्च र जानकारी सम्बन्धित निकायमा दिन अनुरोध गरेको हो ।

घर, गोठ तथा धनजनको क्षति कम गर्ने उपाय तत्काल अबलम्बन गर्नका लागि गाउँपालिका अन्तर्गत संघ, प्रदेश र स्थानीय तहका विषयगत शाखाहरु, स्थानीय तहमा भएका क्लब, संघ, संस्था, राजनीतिक दल, शिक्षक, कर्मचारी र नागरिक समाजलाई विपतबाट उत्पन्न हुने जोखिम न्यूनिकरणका लागि आआफ्नो क्षेत्रबाट सहयोग गर्न गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । गाउँपालिका भित्रका कतिपय स्थानमा पहिरोले गर्दा विद्युत र टेलिफोन समेत अबद्धरु भएको हुँदा सूचना सम्प्रेषणमा असहजता भएको छ ।

यस वर्षको मनसुन अझै केही दिन चल्ने भएकाले भिरालो र खोला किनारका वस्तीका स्थानीयहरुलाई उच्च सतर्कता अपनाउन गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ । साथै वडामा भएका क्षतिको विवरण यथाशक्य छिटो गाउँपालिकामा गराई विपत व्यवस्थापन न्यूनिकरण कार्यमा सहयोग गर्न गाउँपालिकाले सबैमा आग्रह गरेको छ ।