राजनीति

हिजो अखण्ड लुम्बिनीको भावना अब बृहत्तर लुम्बिनीमा रुपान्तरण हुँदैछः मुख्यमन्त्री पोखरेल



बुटवल, १९ असोज । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले विगतका दिनहरुमा अखण्ड लुम्बिनीको भावना आगामी दिनमा बृहत्तर लुम्बिनीमा रुपान्तरण हुने क्रममा रहेको बताउनुभएको छ ।

प्रदेश सरकारले प्रदेश नं. ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङमा राख्ने निर्णय गरी लुम्बिनीको भावनालाई ६ जिल्लाबाट वृहत्तर गरी १२ जिल्लामा विस्तारित हुँदै सिंगो प्रदेशवासीको गौरवको विषय बन्ने बताउनुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘हिजोको अखण्ड लुम्विनीको भावना वृहत्तर लुम्विनीमा रुपान्तर हुँदैछ । हिजो ६ जिल्लामा सिमित लुम्विनी आज १२ जिल्लामा विस्तारित हुदै सिंगो प्रदेशवासीको गौरवको विषय बन्दैछ ।’

प्रदेश सरकारले स्थायी राजधानी दाङमा राख्ने निर्णय गरेसँगै बुटवलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसको विरुद्धमा आन्दोलन गरिरहेको छ । आन्दोलनकै क्रममा आइतवार साँझ काठमाडौँबाट बुटवल जाँदै गरेको मुख्यमन्त्री पोखरेलको गाडीमाथि बुटवलको चौराहमा ढुंगा प्रहार भएको थियो । कांग्रेसका कार्यकर्ताद्वारा काठमाडौँबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा आउँदै गर्दा बुटवलको राजमार्ग चौराहा नजिक सिद्धार्थ कटेज अगाडि मुख्यमन्त्री पोखरेल सवार गाडी र उहाँको स्कर्टिङमा रहेका दुई वटा अगुवा र पछुवा गाडीमा समेत क्षति भएको छ । ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले मुख्मयन्त्री पोखरेललाई आक्रमण गर्ने ९ जनालाई नियन्त्रणमा लिएको बताउनुभयो । पक्राउ पर्नेमा कांग्रेस रुपन्देही जिल्ला समिति सदस्य तथा प्रदेशसभा सदस्यका उमेदवार विष्णु पोखरेल, नेविसंघ केन्द्रीय उपसभापति मुक्ति पौडेल, तिलोत्तमा कांग्रेस सभापति हरिलाल पाण्डे, तिलोत्तमा कांग्रेसका सचिव शिव गैरे, तरुण दलका प्रकाश गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका ज्ञानेन्द्रबहादुर कार्की पक्राउ परेका हुन् । प्रहरीले भने ९ जनालाई पक्राउ गरिएको जनाएको छ ।