राजनीति

प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने



काठमाडौँ, ४ कार्तिक । प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिए ।

‘यो महामारीमा सबै नागरिक समस्यामा छन् । हामी प्रदेश सरकार सुरुदेखि नै यो महामारी नियन्त्रणमा खटिएका छौं’, मन्त्री घिमिरेले भने, ‘अब पनि कोरोना संक्रमित नागरिकको उपचार निःशुल्क नै हुन्छ । यसमा सबै ढुक्क हुनुहोस्  ।’

उनका अनुसार प्रदेश सरकारले कोभिड अस्पताल, आइसोलेसन चलाउँदै आएकाले संक्रमितहरु निजीमा दौडनुपर्ने अवस्था छैन । कोरोना संक्रमण रोक्ने सरकारको अभियानमा सबैले साथ दिनुपर्ने उनको भनाइ छ ।

‘महामारीमा सबै लडेकै छौं । सबै आआफ्नो स्थानबाट संक्रमण नियन्त्रणमा लाग्नुपर्छ’, उनले भने, ‘सरकारको अभियानलाई साथ दिए मात्रै यो सफल हुन्छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।