राजनीति

दशैंले विपत्ति सामना गर्ने सामर्थ्य प्रदान गरोस्: प्रधानन्यायाधीश जबरा



काठमाडौँ, १० कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले विजयादशमीलगायतका पर्वहरुले मुलुकमा आइपर्ने विपत्ती सामना गर्ने सामर्थ्य प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना दिँदै उनले यी पर्वले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कोभिड–१९ को विषम परिस्थितिको बाध्यतालाई ग्रहण गर्दै आ–आफ्नो घरपरिवारभित्र अधिकतम सावधानी र सतर्कताका साथ दसैंलगायतका चाडपर्व मनाउन उहाँले सबैमा आग्रह गर्नुभयो ।

कोरोना भाइरसका कारण उत्पन्न विषम र असहज परिस्थितिको सामना गर्नुपरिरहेको स्मरण गर्दै उहाँले मास्क लगाउने, सामाजिक दूरी कायम गर्नेलगायत विधि र मापदण्ड नै रोगको रोकथाम र नियन्त्रणका उपयुक्त विकल्प भएको उल्लेख गर्नुभयो ।

प्रधानन्यायाधीश जबराले कोरोना भाइरसबाट संक्रमित स्वदेश तथा विदेशमा हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।