राजनीति

चीनतिरै अड्किए नेपालका सामान, अर्बौं लगानी डुब्ने जोखिम



काठमाडौँ, २० कार्तिक । नेपाली व्यवसायीले चीनमा अर्डर गरेका अर्बौंका सामान खासा, केरुङलगायत चिनियाँ बजारमै अड्किएका छन् । नेपाल–चीन नाका तातोपानी र रसुवागढीबाट दैनिक ६ देखि ८ कन्टेनर सामान मात्रै आयात भइरहेको छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार कोभिड–१९ का कारण पछिल्लो नौ महिनादेखि करिब १७ अर्बको गार्मेन्ट, जुत्ताचप्पल, मोबाइल एसोसरिज, इलेक्ट्रोनिक्सका सामान र उपकरण, विभिन्न प्रकारका कच्चापदार्थलगायत अड्केको हो ।

चीनले तातोपानी र रसुवागढी नाकाबाट मालसामान ल्याउने बाटो फुकाए पनि पर्याप्त परिमाणमा भने निर्यात गर्न दिएको छैन । ती दुवै नाकाबाट अत्यन्तै थोरै परिमाणमा मालसामानसहितको कन्टेनर आउँदा व्यापारी लगानी डुब्ने चिन्तामा परेका छन् ।

संघका अध्यक्ष बच्चु पौडेलका अनुसार विगतमा नेपाली व्यवसायीको कन्टेनर तातोपानी हुँदै चीनको खासासम्म सोझै जान पाउँथ्यो । खासामा सामान लोड गरी १५ दिनमा काठमाडौं ल्याइपुर्‍याउँथे । दैनिक रूपमा उक्त नाकामार्फत ५० देखि १ सय कन्टेनरसम्म सामान आउँथ्यो । रसुवातर्फ केरुङ (चीनतर्फको भूभाग)सम्म नेपाली कन्टेनर जान पाउँथ्यो । ‘तर, पछिल्लो समय कोभिडको समस्या देखाएर केरुङ र खासासम्म नेपाली कन्टेनरलाई जान दिइएको छैन’, अध्यक्ष पौडेलले भने ।  यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।