Banner News

विश्वमा एकैदिन १० हजारबढी कोरोना संक्रमितको मृत्यु !



काठमाडौँ, २० कार्तिक । विश्वमा कोरोनाबाट बुधबार एकै दिन हालसम्मकै बढी दैनिक मृत्युसंख्या पुष्टि भएको छ ।

वर्ल्डोमिटर्सका अनुसार बुधबार विश्वमा कोरोना संक्रमणका कारण १० हजार ३७९ जनाको मृत्यु भएको छ । यो एकै दिन मृत्यु पुष्टि हुने हालसम्मकै बढी संख्या हो । बुधबार भने सबैभन्दा बढी मृत्यु स्पेनमा पुष्टि भएको छ । त्यहाँ कोरोना संक्रमणका कारण बुधबार १ हजार ६२३ जनाले ज्यान गुमाएका छन् । यससँगै स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ हजार ११८ पुगेको छ । साथै त्यहाँ २५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा बुधबार १ हजार १९१ जनाले ज्यान गुमाएका छन् । यससँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३९ हजार ८१९ पुगेको छ । त्यहाँ बुधबार हालसम्मकै बढी दैनिक संक्रमित समेत पुष्टि भएका छन् । बुधबार अमेरिकामा १ लाख ५ हजार ८५३ नयाँ संक्रमित थपिएका हुन् ।

भारतमा बुधबार ७०४ जनाको मृत्यु भएको छ भने ५० हजार ४६५ नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २४ हजार ३५४ पुगेको छ भने कुल संक्रमित संख्या ८३ लाख ६३ हजार नाघेको छ । त्यसपछि बढी संक्रमित हुनेमा ब्राजिल छ । त्यहाँ अहिलेसम्म ५५ लाख ९० हजार बढीमा संक्रमण भएकोमा १ लाख ६१ हजार १७० जनाले ज्यान गुमाइसकेका छन् । बुधबार त्यहाँ ६२२ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी बुधबार मेक्सिकोमा ४९३ जनाले ज्यान गुमाएका छन् भने बेलायतमा ४९२ जनाले । यस्तै अर्जेन्टिनामा ४६८, इरानमा ४१९, रसियामा ३८९, फ्रान्समा ३८५, पोल्यान्डमा ३७३, इटालीमा ३५२ जनाले कोरोना संक्रमणका कारण बुधबार ज्यान गुमाए ।

नेपालमा पनि बुधबार कोरोनाबाट हालसम्मकै बढी ३० जनाले ज्यान गुमाएका छन् । चिसो याम बढेसँगै विश्वभर कोरोनाका संक्रमित एवं ज्यान गुमाउनेको संख्या बढिरहेको विज्ञहरू बताउँछन् ।