काठमाडौँ, २० कार्तिक । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ ।
सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सो अवसरमा सैनिक टुुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गरे ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उनी बुधबार यहाँ आइपुगेका हुन् ।
सेनाध्यक्ष नरवणेले आजै जङ्गी अड्डा परिसरमा ओखरको बिरूवा रोपेका थिए । त्यसलगत्तै प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता सुरू भएको छ । यसअघि स्थलसेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।
दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदानसम्बन्धी तेह्रौं बैठकमा भएको सहमतिअनुरूप स्थलसेनाध्यक्ष नरवणेले सैनिक मुख्यालयमा केहीबेरमै नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन् । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरूप उनले नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई आजै सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिनेछ। नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८ औं सेनापति हुन् । रासस
प्रतिक्रिया दिनुहोस्