समाचार

आज तिहारको दोस्रो दिन : कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै



काठमाडौँ, २९ कार्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज कुकुरहरुको पूजा गरेर कुकुर तिहार मनाइँदै छ । आजै लक्ष्मी पूजा पनि मनाइँदै छ ।

हरेकजसो तिहारमा गाईपूजा र लक्ष्मीपूजा एकै दिन पर्ने भए पनि यो वर्ष भने कुकुर तिहारको दिन परेको छ । यस वर्ष चर्तुदशी तिथि बिहान र दिउँसोदेखि औसी छुने भएकाले साँझ लक्ष्मीको पूजा र बिहान कुकुर तिहार मनाइँदैछ ।

प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आज कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ ।

त्यस्तै आज बेलुकी ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइन्छ । आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई बोलाउने गरिन्छ । लक्ष्मी पूजाका लागि आज बेलुकी आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।