काठमाडौँ, २९ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद उत्पकर्षमा पुगेको समयमा उपप्रधानमन्त्री इश्वर पोखरेलले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा रुपमा प्रतिवाद गर्नुभएको छ ।
शुक्रबारको सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध गम्भीर लाञ्छना लगाइएको भन्दै प्रधानमन्त्री पक्षीय नेताहरू रुष्ट बनेका छन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्डलाई राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको छ । उहाँले उक्त एकतर्फिरुपमा प्रस्तुत गरिएको लान्छनापूर्ण तथा पार्टीलाई फुटको संघारमा पुर्याउने प्रकारको प्रस्ताव फिर्ता नलिएमा अध्यक्ष प्रचण्डले ठूलो दुर्भाग्य चुकाउनुपर्ने चेतावनी दिनुभयो ।
“प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अत्यन्त संगिन आरोपहरू लगाउनुभएको छ । प्रस्तावका रूपमा प्रस्तुत यी संगिन आरोपहरू २०७७ साल भदौ २६ गते सम्पन्न स्थायी कमिटीको सर्वसम्मत निर्णय विरूद्ध र पार्टी एकताको भावनाविरूद्ध छन्,” उहाँको निष्कर्ष छ ।
सहमतिका साथ अघि बढ्नुपर्ने पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरीत ‘कि तँ छैनस् कि म छैन’ भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले अघि सारिएको उहाँले बताउनुभयो । दुराग्रहका साथ प्रस्तुत ती प्रस्तावहरू फिर्ता लिएर एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने कार्यकर्ताको हातमा रहेको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमा व्यक्त धारणाको अन्तिममा उहाँले भन्नुभएको छ, “प्रचण्ड कमरेडले मात्र होइन नेकपाभित्रका सबैले यसको छिनोफानो गर्नैपर्छ ।”










प्रतिक्रिया दिनुहोस्