समाचार

चक्कु प्रहारबाट एक जनाको मृत्यु



बुटवल, ३० कार्तिक । रुपन्देहीको तिलोत्तमामा बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङको चक्कु प्रहारबाट उनको १९ वर्षीय छोरा पदमबहादुर गुरुङको शनिबार साँझ मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलकाअनुसार मादक पदार्थ सेवन गरेका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए । छोरा पदमबहादुरले आमालाई जथाभावी नबोल्न आग्रह गर्दा शेरबहादुरले चक्कु प्रहार गरेका थिए । बाबुको चक्कु प्रहारबाट पदमबहादुरको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा संलग्न शेरबहादुरलाई शनिबार राति नै इलाका प्रहरी कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।