राजनीति

प्रचण्डलाई जहाँ कार्यकारीको जिम्मा हुन्छ, त्यहाँ निर्माण हैन, ध्वंस हुन्छः संयोजक महर



काठमाडौँ, ३० कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी जिम्मा पाएको ठाउँमा निर्माण नभई ध्वंसमात्र हुने गरेको बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डको इतिहास हेर्दा नै कार्यकारी भएको जिम्मामा निर्माण नभई ध्वंस भएको उल्लेख गर्नुभयो । संयोजक महरले विगतमा अध्यक्ष प्रचण्डले कार्यकारी रुपमा नेतृत्व गरेका पार्टीबाट डा. बाबुराम भट्टराई, मोह बैद्य, नेत्रविक्रम चन्द विप्लवलगायतका नेताहरुले पार्टी फुटाउन बाध्य बनाइएको प्रति लक्षीत गर्दै उक्त कुरामा जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले नेकपामा ध्वंस गर्ने सम्भावना नरहेको उल्लेख गर्दै संयोजक महरले नेकपामा अब ध्वंस नभई चोइटेर जानेलाई बोटो खुल्ला रहेको समेत चेतावनी दिनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘इतिहास साक्षी छ, जब कमरेडले कार्यकारीको जिम्मा पाउनुहुन्छ अनि निर्माण होइन्, ध्वंस गर्नु भएको छ चाहे पार्टी होस् या देश । तर नेकपा ध्वंस गर्न सम्भव छैन, यस पटक कमरेडको इतिहासको क्रमभंग हुनेवाला छ बरु चोइटिन सक्नुहुन्छ । पार्टी अध्यक्ष जस्तो महत्त्वपूर्ण जिम्मेवार ब्यक्तिले पार्टीका १ नं अध्यक्षका बिरुद्ध सचिवालय बैठकमा पार्टी बिधान बिपरित, सचिवालय र स्थायी कमिटी बैठक का निर्णय बिपरित, अराजनीतिक, ब्यक्तिगत कुण्ठाले भरिएको, पुर्बाग्रही रुपमा संगिन आरोप लगाएर पेश गरिएको कथित राजनीतिक प्रतिबेदन अविलम्ब फिर्ता लिन कमरेड प्रचण्डलाई हार्दिक अनुरोध गर्दछु।’