राजनीति

प्रदेश २ सरकारको ‘बेथिति, भ्रष्टाचार र कुशासनको नयाँ कीर्तिमानी’: प्रभु साह



काठमाडौँ, ३० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सांसद प्रभु साहले लालबाबु राउत नेतृत्वको प्रदेश २ को सरकारले बेथिति, भ्रष्टाचार र कुशासनको नयाँ कीर्तिमान बनाएको आरोप लगाउनुभएको छ ।

सांसद राउतले शनिबार सामाजिक संजाल फेसबूकमार्फत नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले प्रदेश सरकारको आर्थिक वर्ष २०७७–७८ को बजेट भ्रष्टाचार, बेथिति र कुशासनको नयाँ कीर्तिमान भएको बताउनुभयो ।

विगतमा प्रदेश सरकारले व्यक्तिको मोबाइल नम्बर समेत तोकेर बजेट निर्माण गरेको स्मरण गराउँदै नेता साहले यस वर्षको बजेटमा परामर्शदाता र विक्रेताको नामसमेत उल्लेख गरेकोप्रति आक्रोश व्यक्त गर्नुभयो ।

नियमपूर्वक प्रक्रिया पूरा गरी खुल्ला प्रतिस्पर्धाबाट खरिद आह्वान हुने व्यवस्थाको धज्जी उडाउँदै प्रदेश सरकारले पहिलानै रेडबूकमा विक्रेताको नाम लेखेर भ्रष्टाचार गरेको भन्दै नेता साहले प्रदेश सरकार आपराधिक रवैया रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विगतका वर्षहरूमा व्यक्तिको मोबाईल नम्बर नै तोकेर बजेट निर्माण गर्ने प्रदेश २ को सरकार यस आ।व। २०७७–७८ मा झन परामर्शदाता तथा विक्रेताहरूको नाममा बजेट तोकी रेड बुक प्रकाशित गरेर भ्रष्टाचार, बेथिती एवं कुशासनको फेरी अर्को नयाँ कीर्तिमान खडा गरेको छ । सार्वजनिक क्षेत्रमा वस्तु तथा सेवा खरिदरविक्री गर्दा खुल्ला प्रतिस्पर्धा सहितको एउटा निश्चित कार्यविधिको पालना गर्नुपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी मान्यतालाई समेत प्रदेश २ सरकारले धज्जी उडाएको छ । प्रदेश सरकारको यी र यस्ता गलत रवैया र अपराधहरूले गर्दा नै आज सिङ्गो प्रदेश र प्रदेशवासी जनताको स्वभीमान, गौरव र गरिमामा खलल पुग्नुको साथसाथै मधेसको अपमान एवं बदनाम समेत भैइरहेको छ ।’