काठमाडौँ, ३ मंसिर । ललितपुर र बाँकेमा एकर एक गरी थप दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
ललितपुरमा कोरोना भाइरस संक्रमणबाट महालक्ष्मीस्थानकी ७० वर्षीया महिलाको किस्ट अस्पताल ग्वार्कोमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । श्वास प्रश्वासमा समस्या भएपछि उनी गत कात्तिक २७ गते अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन किस्ट अस्पतालमै स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै कोभिड आईसीयूमा राखेर उनको थप उपचार थालिएको थियो ।
ती महिलाको बुधबार बिहान २ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । त्यस्तै बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका १७ का ७९ वर्षीय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा आज बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर जाँचमा कात्तिक २१ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनी होमआइसोलेसनमा बसेको अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि मङ्सिर २ गते राति शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।
अस्पतालको कोभिड १९ आइसोलेसन वार्डमा भर्ना भएका उनलाई उपचारका क्रममा अक्सिजन, फेसमास्क, एन्टिबायोटिक्स, भेन्टिलेटरलगायत सम्पूर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई बिग्रँदै गएपछि आज बिहान मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।










प्रतिक्रिया दिनुहोस्