समाचार

थप तीन जना कोरोना संक्रमितको मृत्यु



काठमाडौँ, ७ मंसिर । धरानमा एक र दाङमा दुईजना गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोभिड–१९ का बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको मेचीनगरस्थित बाहुनडगी–४ का ४५ वर्षीय पुरुष रहेका छन् ।

गत मंसिर १ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएका उनी ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उनको ७ गते बिहान एक बजे मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै दाङका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ वर्षीय पुरुष रहेका छन् । उनीहरु दुवै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

घोराहीका पुरुषमा कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । २७ गते अस्पताल भर्ना भएका उनको शनिबार राति ११ः५० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनमा उच्च रक्तचाप र निमोनियाको समस्या थियो । यस्तै तुलसीपुरका पुरुष मंसिर ४ गते अस्पताल भर्ना भएका थिए । ५ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनको आइतबार बिहान १ः४० बजे मृत्यु भएको श्रेष्ठले बताए । उनमा मधुमेह र निमोनियाको समस्या थियो ।