जनकपुरधाम, ९ मंसिर । महोत्तरीको बर्दिबास नगरपालिकामा एक जना बालिकाको हत्या भएको छ ।
आइतबार साँझदेखि वेपत्ता भएकी बर्दिवास नगरपालिकाको वडा नम्बर १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको हो । उनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको छ । बालिकाको हत्या गरेर बोरामा फ्याँकिएको अवस्थामा राति १ बजेतिर शव फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका गरेपनि यद्यपि प्रहरीले पोष्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने जनाएको छ । बालिकाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका ५ घर भई बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका अरुण कुमार साह छन् ।
२५ वर्षीय साह रक्सी पिएर सोमबार राति गौशाला ५ स्थित घर गएका थिए । उनले आफ्ना परिवारका सदस्यहरुसँग बालिकाको हत्या आफूले गरेको बताएका थिए । ‘यो कुराको जानकारी पाउनासाथ हाम्रो टोलीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्यो,’ इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक प्रकाश रेग्मीले भने, ‘उनले हत्या गरेको स्वीकारेका छन् ।’
चकलेट किन्न गएकी बालिकालाई लुकाएर साहले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले बलात्कार गरेर हत्या गरेका हुन् कि होइनन् भन्ने कुराको अनुसन्धान भने भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्