काठमाडौँ, ९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डतालगायतको पक्षमा दृढताको साथ अगाडी बढेको उल्लेख गर्दै मुलुकको हितभन्दा पनि भारतको हित चाहने केही नेपाली नेतृत्वले गुमेको नेपाली भूमि फिर्ता आउला की भन्ने डर भएको बताउनुभएको छ ।
सोमवार ताप्लेजुङको घुम्सामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा बसेर भारतको गुलामी गर्ने केही नेतृत्वलाई नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा तथा कालापानीसहितको भूमि फिर्ता आएमा आफ्नो भारतलाई गुलामी गर्ने अस्थित्व नै समाप्त हुने भएकाले वर्तमान सरकारले गरेको ऐतिहासिक कामहरुको विराधे गरेको स्पष्ट पार्नुभयो । वर्तमान सरकारकोको लोकप्रीय कामहरु देखेर डाहा लागेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारको लोकप्रीयतादेखी आत्तीएकाले सरकार ढाल्ने दिवा सपना देखेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले देशको भूभाग समेटेर नक्सा छापेका छौँ । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित हाम्रो छुटेको जमिन हामीले नक्सामा सामेल गरेका छौँ । संविधान संशोधन गरेर हाम्रो निशान छापमा राखेका छौँ । अहिले केही मान्छेलाई त्यो जमिन फिर्ता आउला कि भन्ने डर छ । अहिलेको यो हल्लाखल्ला अरू केही होइन । यो सरकार रह्यो भने त्यो जमिन फिर्ता ल्याउँछ । त्यो जमिन भरसक फिर्ता आउन नपाओस्, आउन पायो भने अहिलेको सरकार लोकप्रिय हुन्छ भन्ने पिर केहीलाई परेको छ, त्यस्तो चिन्ता केहीलाई छ । आफ्नो उचाइ घट्ने हो कि भन्ने चिन्ता त्यस्ता केहीलाई छ । त्यस्ता मान्छेले नै अनेक प्रकारका दुष्प्रचार गरेर सरकारले केही काम गरेन भन्दै हल्ला चलाउने, केही पनि भएन भन्ने हल्ला चलाउने र सरकार परिवर्तन हुँदैछ भन्ने हल्ला चलाउने र जनताको मनमा देशमै चिन्ता छाउने खालको वातावरण बनाउने काम गरिरहेका छन् । तिनले सुनियोजित रूपमा त्यस प्रकारका काम गरिराखेका छन् तर म तपाईंहरूलाई ढुक्क रहनुहोस् भन्न चाहन्छु ।’
वर्तमान सरकारको जनत तथा मुलुकको पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कसैले चाएको हल्लाको पछि नलाग्न आम नागरिकलाई अपित समेत गर्नुभयो । पार्टीभित्रैबाट सरकारलाई असफल बनाउन अहोरात्र दैडधुप गरिरहेको उल्लेख गर्दै उहाँले केही काम नपाएका मान्छे, देशमा अस्थिरता चाहने मान्छे, देशलाई स्थिरतामा जान नदिन खोज्ने मान्छे र देशको प्रगति हेरेर तर्सिएका मान्छेहरूले यसो गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले सरकार चलाइरहेको पार्टीभित्र अनेक प्रकारका, कहिले पार्टी अध्यक्षका विरुद्ध, कहिले प्रधानमन्त्रीका विरुद्ध, कहिले लिखित र कहिले छापेर त्यस्ता सामग्री वितरण गरिएका । सरकार ढलिहाल्छजस्ता कुरा तपाईंहरूले सुन्नु भएको हुनसक्छ । केही काम नपाएका मान्छे, देशमा अस्थिरता चाहने मान्छे, देशलाई स्थिरतामा जान नदिन खोज्ने मान्छे र देशको प्रगति हेरेर तर्सिएका मान्छेहरूले यसो गरिरहेका छन् ।’










प्रतिक्रिया दिनुहोस्