काठमाडौँ, १३ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा आज बस्दै छ ।
पूर्वनिर्धारित सचिवालयको बैठक शनिबार अपराह्न १ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको उक्त बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफी प्रस्ताव पेश गर्नुहुने बताइएको छ ।
पछिल्लो समय दुवै अध्यक्ष र पक्षधरबीचको असमझदारी चुलिएर पार्टी एकतामै गम्भीर संकट देखापरिरहेको छ । यही बेला अध्यक्ष प्रचण्डलाइ जवाफ दिन अध्यक्ष ओलीले सचिवालयमा प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । यसअघि अध्यक्षद्वयको सहमतिमा साझा प्रस्ताव ल्याउने परम्पराविपरीत कार्यकारी अध्यक्ष दाहालले एकल प्रस्ताव ल्याएर गत कात्तिक २८ गतेको सचिवालय बैठकमा पेश गर्नुभएको थियो । जसमा प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीलाई विभिन्न रूपमा आरोपित गरी गरिएको छ ।
सो प्रस्तावको जवाफस्वरूप अध्यक्ष ओलीले पनि प्रचण्डलाइ चुनौती दिने खालको जवाफी प्रस्ताव तयार पार्नुभएको जनाइएको छ । उक्त प्रस्तावमा अर्का अध्यक्ष प्रचण्डले लगाउनुभएको आरोपहरूको खण्डन गर्दै सबैबीच सहमतिमा पार्टीलाई एकताबद्ध बनाएर कसरी अगाडि लैजाने भन्ने विषय समेटिएको विशेष स्रोतको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्