समाचार

थप ५ जना कोरोना संक्रमितको मृत्यु



पोखरा, १५ मंसिर । पोखरामा ४  र कैलालीमा एक जना गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना र चरक मेमोरिय अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका–३ का ६५ वर्षीय पुरूषको उपचारको क्रमममा आइतबार दिउँसो ४ः३३ बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै पोखरा महानगरपालिका–१८ का ५१ वर्षीय पुरूषको प्रतिष्ठानमै सोमबार राति ९ः४५ बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै पोखराकै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङ्जाको वालिङ नगरपालिका–१४ का ६७ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको डा. शर्माले बताए । उनीमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पोखरास्थित चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका–१६ की ५७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान ४ बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यता कैलालीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका-४ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । मङ्सिर ८ गते श्वासप्रश्वास सम्बन्धी समस्या लिएर अस्पतालमा भर्ना भएको पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।
उनको अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको थियो ।