समाचार

थप तीन जना कोरोना संक्रमितको मृत्यु



पाल्पा, दाङ र स्याङजाका थप एक(एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौँ, १७ मंसिर । दाङका थप एकजना कोरोना संक्रमितको उपचारका क्रममा कोहोलपुरमा मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-६ का ५६ वर्षीय पुरुषको बुधबार बिहान करिब ५ बजेतिर मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनी यही मंसिर ६ गते प्रिआइसोलेसनमा भर्ना भएका थिए । कोरोना जाँचका क्रममा ७ गते रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पतालको कोभिड-१९ आइसोलेसनमा भर्ना भएका थिए ।

उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अक्सिजन थेरापी र प्लाज्मा थेरापीसमेत गरिएको थियो तर बचाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । यससँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्यामात्रै ५२ पुगेको छ । यता पाल्पा र स्याङजाका थप एक(एकजना कोरोना संक्रमितको उपचारको क्रममा पाल्पामा मृत्यु भएको छ ।

पाल्पाको बगनासकाली गाउँपालिका-१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका-४ का ३९ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । मेडिकल कलेजका अनुसार पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको र १४ गते अस्पताल भर्ना भएका थिए । मंसिर १ गते अस्पताल भर्ना भएका स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।